एमसीसी पास गर्नुपर्छ भन्ने देउवालाई भीम रावलले भने, महाकाली सन्धि छिटाे पास गराैँ भन्ने पनि देउवा नै हुन्

राजनीति

५ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट छिटो पास गर्नुपर्छ भन्ने प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अभिव्यक्तिको खण्डन गरेका छन् ।

सोमबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै नेता रावलले सभापति देउवालाई महाकाली सन्धि सम्झाएका छन् । ‘एक जना नेताले यहाँ भन्नुभयो यो पारित गर्नपर्छ । छिटो गर्नुपर्छ भनेर नेपाली कांग्रेसका नेताले ।

उहाँले महाकाली सन्धिमा पनि त्यस्तै कुरा गर्नुभएको थियो । महाकाली सन्धिको पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो । तर, त्यसको न पुनरावलोकन भयो न कार्यान्वयन भयो,’ रावलले भने ।

आइतबार प्रतिनिधि सभामा बोल्दै कांग्रेस सभापति देउवाले एमसीसीलाई सदनबाट पारित गर्नेबारे सरकारले उदासिनता देखाएको आरोप लगाएका थिए । उनले चालु अधिवेशनबाट एमसीसी पारित गराउन पनि माग गरेका थिए ।

सभापति देउवाले भनेका थिए, ‘यही सदनमा प्रस्तुत गरेर पारित गर्ने प्रक्रिया अघि बढाउन म माग गर्दछु । पूर्ववर्ती सरकारले गरेका निर्णय र सम्झौता उल्लंघन गर्दै जाने प्रवृत्तिले गलत नजिर स्थापित गर्ने चेतावनी म दिन चाहन्छु ।’ सभापति देउवालाई सोमबार संसदमै नेकपा नेता रावलले जवाफ दिएका हुन् । त्यसक्रममा उनले महाकाली सन्धी सम्झाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *